कास्की र लमजुङको सिमानामा बग्ने ८.८ मेगावाट क्षमताको रुदी खोलामा निर्माणाधिन रुदीखोला–ए जलविद्युत आयोजनाकोे निर्माण कार्य सकिएको छ । आयोजनाको निर्माण कार्य सकिएपछि यसको परीक्षण थालिएको छ ।

आयोजनाकाे परीक्षण  सुरू

आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार असोज २० गतेबाट पानी राखेर परीक्षण थालिएको छ । अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको उनले बताए । भट्टराईले भने आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल लगायतका निर्माण कार्य दुई साताअघि सकिएको छ ।

विद्युत् गृहमा ४.४ मेगावाटका दुईवटा पेलटन टर्बाइन जडान गरिएका छन् । आयोजनाले सबै परीक्षण सकेर एक महिनापछि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् पठाउने तयारी गरेको उनले बताए ।
लमजुङको पसगाउँस्थित सिङ्दीबेसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमीटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेसीस्थित विद्युतगृहबाट विद्युत उत्पादन गरिने छ ।

सो आयोजनामा रुदीसहित छेदुवा खोलाको पानीसमेत मिसाइने छ । तीनसय मिटर ग्रेसहेड रहेको यो आयोजनाबाट उत्पादित विद्युत कास्कीको मुग्रेबेसीस्थित ३३ केभिएको ट्रान्समिसन लाइनमा जडान गरिने मेकानिकल ओभरसियर कृष्णप्रसाद पण्डितले बताए ।

आयोजनाको निर्माण सुरु भएको साढे दुई वर्षमा निर्माण कार्य सकिएको हो । अबको एक महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन थालिने पण्डीतले बताए । त्यसअघिको १५ दिन आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिनेछ ।

 

एक अर्ब ५० करोड लागतमा आयोजना निर्माण
आयोजना निर्माणका लागि अनुमानित लागत १ अर्ब ५० करोड अनुमान गरीएको छ । यसमा सानिमा बैंकको नेतृत्वमा ७० प्रतिशत र प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ । आयोजनाको निर्माणकार्य ०७४ असार मसान्तभित्र सक्ने भनिएकोमा ०७३ को असारमै बाढीपहिरोले निर्माणाधीन आयोजनामा क्षति पुराएको थियो ।

त्यसअघि भूकम्प, नाकाबन्दी र पहिरोले आयोजनाको निर्माण कार्य प्रभावित बनेको प्रोजक्ट म्यानेजर भट्टराईले बताए । रुदी ‘ए’ सँगै प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि. ले माथिल्लो क्षेत्रमा ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।

०६९ मा विद्युत खरिद—सम्झौता
रुदी ‘ए’ जलविद्युत आयोजनाको ०६९ माघ २८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद—सम्झौता (पिपिए) भएको हो । आयोजनाको हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पिपिए सम्झौता भएको छ ।

ट्रान्समिसन लाइन निर्माण
आयोजनाले आफ्नै लगानीमा सबस्टेसनसम्म विद्युत् प्रसारण लाइन टाँगेको छ । आयोजनाको विद्युतगृह मादी गाउँपालिका ९ बालुवाबेसीदेखि मुंग्रीबेसीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म आयोजना आफैंले तार टाँगेको हो ।

३.८ किमि लम्बाइको ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैं निर्माण गरेको आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर भट्टराईले बताए । विद्युत् प्राधिकरणले तत्काल उक्त प्रसारण लाइन नबनाउने भएकाले उत्पादिन विद्युत् खेर जान नदिन आयोजना निर्माण अगावै ट्रान्समिसन लाइन निर्माण गरेको आयोजनाले जनाएको छ ।

विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि. प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रा.लि., हाईड्रोमेकानिकलमा नर्थ हाईड्रो एण्ड इन्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रा.लि.ले काम गरेका छन् ।