Share approval apply in erc

काठमाडौं । विद्युत नियमन आयोगले ३ जलविद्युत कम्पनीलाई करिब ७३ लाख साधारण सेयर (आइपिओ) निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । आयोगको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । आयोगका अनुसार न्यादी हाइड्रो पावर लिमिटेड, विन्ध्यवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडलाई क्रमशः ४० लाख ५० हजार, २५ लाख र ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न अनुमति दिइएको छ ।

तीन कम्पनीले निष्कासन गर्न अनुमति पाएको कूल सेयर कित्ता ७२ लाख ८६ हजार २ सय ८६ हुन्छ । योसँगै आयोगले बैंकबाट ऋण लिएर जलविद्युतमा लगानी गरेकाको निर्माण अवधिको ब्याज पुँजीकरण गरिदिने सम्बन्धमा नीतिगत व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।

आयोगले अहिले रुग्णको सूचीमा परेको भन्दै आन्दोलित आयोजनालाई लक्षित गर्दै राष्ट्र बैंकलाई पत्र लेखेको देखिन्छ । यस्तै, विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका, २०७६ मा राय सुझाव दिन सूचना प्रकाशन गर्ने निर्णय पनि भएको जनाइएको छ ।