(लमजुङ) — रुदी खोलामा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । विद्युत् भार परीक्षणपछि केन्द्रीय प्रसारणमा जोड्ने आयोजनाको तयारी छ । विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले उपकरण परीक्षण गरेपछि शनिबारदेखि विद्युत् उत्पादन परीक्षण गरेको आयोजना प्रमुख इन्जिनियर सरोज भट्टराईले जानकारी दिए । 

2601karudibinteklamjung 2812020025315 1000x0

उत्पादन परीक्षण माघ १७ सम्म रहनेछ । आन्तरिक उत्पादन परीक्षणपछि विद्युत् प्राधिकरणको प्रणालीमा विद्युत् पठाइने उनले बताए । ‘फेब्रुअरी पहिलो साता हामी विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा पठाउँछौं । १५ दिन प्राधिकरणलाई नि:शुल्क विद्युत् दिनुपर्छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेपछि फागुन पहिलो साताबाट विद्युत् उत्पादनले व्यावसायिक रूप लिन्छ ।’

केही दिनमै प्राधिकरणका अधिकारी आएर विद्युत् उत्पादनबारे जानकारी लिने उनले बताए । त्यसपछि व्यावसायिक उत्पादन मिति तोकेर अघि बढ्ने उनको भनाइ छ । उत्पादित विद्युत् ९ किलोमिटर दूरीमा रहेको कास्कीको मादी गाउँपालिका–९ मुंग्रेबेंसी सबस्टेसनमा जोडिनेछ । मुंग्रेबेंसीसम्म ३३ केभीको सिंगल सर्किट प्रवर्द्धक आफैंले निर्माण गरेको हो ।

2601karudibpowerhouselamjung 2812020025328 1000x0

 लमजुङको क्व्होलासोंथर गाउँपालिका– ५ सिङ्दीबेंसीमा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् गृहमा जडित मेसिनरी सामग्री । तस्बिर : कान्तिपुर 

सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको रुदी ‘बी’ जलविद्युत् आयोजनाको १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान थियो । आयोजनामा लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी (स्वपुँजी) छ । ०७४ जेठबाट औपचारिक निर्माण थालेको आयोजना निर्माण २० महिनामा सकिएको हो । यसअघि बिन्ध्यवासिनी हाइड्रो पावर कम्पनीले रुदी खोलामै ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।

०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । लमजुङको क्व्होलासोंथर गाउँपालिका–५ सिङ्दी गाउँनजिकै टोंगो खोला दोभानमा बाँध बाँधेर साढे तीन किलोमिटर लामो पेनस्टक पाइपमार्फत सिङ्दीबेंसीमा निर्मित विद्युत्गृहमा पानी लगिएको छ ।

प्रकाशित: माघ १४, २०७६ ०७:४२