(लमजुङ) — रुदी खोलामा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ । विद्युत् भार परीक्षणपछि केन्द्रीय प्रसारणमा जोड्ने आयोजनाको तयारी छ । विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले उपकरण परीक्षण गरेपछि शनिबारदेखि विद्युत् उत्पादन परीक्षण गरेको आयोजना प्रमुख इन्जिनियर सरोज भट्टराईले जानकारी दिए ।
उत्पादन परीक्षण माघ १७ सम्म रहनेछ । आन्तरिक उत्पादन परीक्षणपछि विद्युत् प्राधिकरणको प्रणालीमा विद्युत् पठाइने उनले बताए । ‘फेब्रुअरी पहिलो साता हामी विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा पठाउँछौं । १५ दिन प्राधिकरणलाई नि:शुल्क विद्युत् दिनुपर्छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेपछि फागुन पहिलो साताबाट विद्युत् उत्पादनले व्यावसायिक रूप लिन्छ ।’
केही दिनमै प्राधिकरणका अधिकारी आएर विद्युत् उत्पादनबारे जानकारी लिने उनले बताए । त्यसपछि व्यावसायिक उत्पादन मिति तोकेर अघि बढ्ने उनको भनाइ छ । उत्पादित विद्युत् ९ किलोमिटर दूरीमा रहेको कास्कीको मादी गाउँपालिका–९ मुंग्रेबेंसी सबस्टेसनमा जोडिनेछ । मुंग्रेबेंसीसम्म ३३ केभीको सिंगल सर्किट प्रवर्द्धक आफैंले निर्माण गरेको हो ।
लमजुङको क्व्होलासोंथर गाउँपालिका– ५ सिङ्दीबेंसीमा निर्मित ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् गृहमा जडित मेसिनरी सामग्री । तस्बिर : कान्तिपुर
सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको रुदी ‘बी’ जलविद्युत् आयोजनाको १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान थियो । आयोजनामा लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटी (स्वपुँजी) छ । ०७४ जेठबाट औपचारिक निर्माण थालेको आयोजना निर्माण २० महिनामा सकिएको हो । यसअघि बिन्ध्यवासिनी हाइड्रो पावर कम्पनीले रुदी खोलामै ८ दशमलव ८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।
०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । लमजुङको क्व्होलासोंथर गाउँपालिका–५ सिङ्दी गाउँनजिकै टोंगो खोला दोभानमा बाँध बाँधेर साढे तीन किलोमिटर लामो पेनस्टक पाइपमार्फत सिङ्दीबेंसीमा निर्मित विद्युत्गृहमा पानी लगिएको छ ।
प्रकाशित: माघ १४, २०७६ ०७:४२
काठमाडौं । विद्युत नियमन आयोगले ३ जलविद्युत कम्पनीलाई करिब ७३ लाख साधारण सेयर (आइपिओ) निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । आयोगको बिहीबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । आयोगका अनुसार न्यादी हाइड्रो पावर लिमिटेड, विन्ध्यवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडलाई क्रमशः ४० लाख ५० हजार, २५ लाख र ७ लाख ३६ हजार २ सय ८६ कित्ता सेयर निष्कासन गर्न अनुमति दिइएको छ ।
तीन कम्पनीले निष्कासन गर्न अनुमति पाएको कूल सेयर कित्ता ७२ लाख ८६ हजार २ सय ८६ हुन्छ । योसँगै आयोगले बैंकबाट ऋण लिएर जलविद्युतमा लगानी गरेकाको निर्माण अवधिको ब्याज पुँजीकरण गरिदिने सम्बन्धमा नीतिगत व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ ।
आयोगले अहिले रुग्णको सूचीमा परेको भन्दै आन्दोलित आयोजनालाई लक्षित गर्दै राष्ट्र बैंकलाई पत्र लेखेको देखिन्छ । यस्तै, विद्युत नियमन आयोग सार्वजनिक सुनुवाई सञ्चालन निर्देशिका, २०७६ मा राय सुझाव दिन सूचना प्रकाशन गर्ने निर्णय पनि भएको जनाइएको छ ।
कास्की र लमजुङको सिमानामा बग्ने ८.८ मेगावाट क्षमताको रुदी खोलामा निर्माणाधिन रुदीखोला–ए जलविद्युत आयोजनाकोे निर्माण कार्य सकिएको छ । आयोजनाको निर्माण कार्य सकिएपछि यसको परीक्षण थालिएको छ ।
आयोजनाकाे परीक्षण सुरू
आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार असोज २० गतेबाट पानी राखेर परीक्षण थालिएको छ । अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको उनले बताए । भट्टराईले भने आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल लगायतका निर्माण कार्य दुई साताअघि सकिएको छ ।
विद्युत् गृहमा ४.४ मेगावाटका दुईवटा पेलटन टर्बाइन जडान गरिएका छन् । आयोजनाले सबै परीक्षण सकेर एक महिनापछि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् पठाउने तयारी गरेको उनले बताए ।
लमजुङको पसगाउँस्थित सिङ्दीबेसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमीटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेसीस्थित विद्युतगृहबाट विद्युत उत्पादन गरिने छ ।
सो आयोजनामा रुदीसहित छेदुवा खोलाको पानीसमेत मिसाइने छ । तीनसय मिटर ग्रेसहेड रहेको यो आयोजनाबाट उत्पादित विद्युत कास्कीको मुग्रेबेसीस्थित ३३ केभिएको ट्रान्समिसन लाइनमा जडान गरिने मेकानिकल ओभरसियर कृष्णप्रसाद पण्डितले बताए ।
आयोजनाको निर्माण सुरु भएको साढे दुई वर्षमा निर्माण कार्य सकिएको हो । अबको एक महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन थालिने पण्डीतले बताए । त्यसअघिको १५ दिन आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिनेछ ।
एक अर्ब ५० करोड लागतमा आयोजना निर्माण
आयोजना निर्माणका लागि अनुमानित लागत १ अर्ब ५० करोड अनुमान गरीएको छ । यसमा सानिमा बैंकको नेतृत्वमा ७० प्रतिशत र प्रवर्द्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ । आयोजनाको निर्माणकार्य ०७४ असार मसान्तभित्र सक्ने भनिएकोमा ०७३ को असारमै बाढीपहिरोले निर्माणाधीन आयोजनामा क्षति पुराएको थियो ।
त्यसअघि भूकम्प, नाकाबन्दी र पहिरोले आयोजनाको निर्माण कार्य प्रभावित बनेको प्रोजक्ट म्यानेजर भट्टराईले बताए । रुदी ‘ए’ सँगै प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि. ले माथिल्लो क्षेत्रमा ६.६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।
०६९ मा विद्युत खरिद—सम्झौता
रुदी ‘ए’ जलविद्युत आयोजनाको ०६९ माघ २८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद—सम्झौता (पिपिए) भएको हो । आयोजनाको हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पिपिए सम्झौता भएको छ ।
ट्रान्समिसन लाइन निर्माण
आयोजनाले आफ्नै लगानीमा सबस्टेसनसम्म विद्युत् प्रसारण लाइन टाँगेको छ । आयोजनाको विद्युतगृह मादी गाउँपालिका ९ बालुवाबेसीदेखि मुंग्रीबेसीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म आयोजना आफैंले तार टाँगेको हो ।
३.८ किमि लम्बाइको ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैं निर्माण गरेको आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर भट्टराईले बताए । विद्युत् प्राधिकरणले तत्काल उक्त प्रसारण लाइन नबनाउने भएकाले उत्पादिन विद्युत् खेर जान नदिन आयोजना निर्माण अगावै ट्रान्समिसन लाइन निर्माण गरेको आयोजनाले जनाएको छ ।
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि. प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रा.लि., हाईड्रोमेकानिकलमा नर्थ हाईड्रो एण्ड इन्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रा.लि.ले काम गरेका छन् ।